काठमाडौँ । आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभागले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने विभागले जनाएको छ ।
त्यस्तै, कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । उक्त अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ ।
विभागका अनुसार बंगालको खाडीको मध्य भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’मा परिणत हुने र पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ । यसको प्रभाव बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा देखिन सक्ने र मध्यम वर्षा हुनसक्ने विभागको अनुमान छ ।
भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अत्यावश्यकबाहेक टाढाको यात्रा नगर्न तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको छ ।
त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई आग्रह गरिएको छ ।
अचानक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिम भएका क्षेत्र र नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष चनाखो रहन प्राधिकरणले अनुरोध गरेको छ ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग आवश्यक परे १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मौसम विज्ञान विभाग तथा प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा हेर्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

