पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ ६ बजेर २२ मिनेटमा फ्लाइ दुबईको विमान अवतरण भएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबई ११५ जना यात्रु बोकेर पोखरा आएको हो। जहाज बुधबार ७ बजेर ५४ मिनटमा पोखराबाट १५३ जना यात्रु बोकेर फर्किसकेको छ।
१६६ सिट क्षमताको उक्त जहाजमा १० सिटमा बिजनेस र १५६ जनाको इकोनोमी क्लासका सिट छन्।
पोखराका लागि यो उडान ऐतिहासिक भएको भन्दै पोखरेलीले भव्य स्वागत गरे। जहाजलाई एयरपोर्टमा पानीको फोहोराले स्वागत गरिएको थियो। विमान उडाउने नेपाली पाइलट सर्वजित यादव थिए। उनी सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत छन्। यात्रुहरु पनि विभिन्न देशबाट दुबई हुँदै आएका छन्।
पोखराका मेयर धनराज आचार्यले यात्रुलाई स्वागत तथा बिदाइ गर्दै आजको यो उडान अब हरेक दिन र नियमित रूपमा सञ्चालन हुने अन्तर्राष्ट्रिय हवाई सेवाको स्थायी सुरुवात बनोस् भनी सदीक्षा व्यक्त गरे।
१ जनवरी, २०२३ मा अत्यन्त उत्साहका साथ उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान पूर्ण क्षमतातर्फ अघि बढे पनि अन्तर्राष्ट्रिय उडानका रूपमा चार्टर उडान तथा पोखरा–ल्हासा साप्ताहिक नियमित उडानबाहेक अपेक्षित रूपमा नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन हुन सकेको थिएन।
तर, बुधबारदेखि फ्लाई दुबई र एमिरेट्सको कोड–सेयरिङमार्फत पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा यात्रा गर्न सकिने नयाँ अध्याय सुरु भएको हो।पोखराका पर्यटन व्यवसायीहरुले पनि यो क्षण पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण अवसर भएको भनी खुसी व्यक्त गरेका छन्।
पोखरा पर्यटन परिषद् अध्यक्ष हरि भुजेलले यसललाई पोखराको अन्तर्राष्ट्रिय आकाशतर्फको नयाँ यात्राको सुरुवात भएको उल्लेख गरे।
परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले उडानलाई नियमित गर्न सरोकारवाला निकाय सबै जना एकजुट हुनुपर्नेमा बताए। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने उनको भनाइ छ।
फ्लाई दुबईको पहिलो उडान सुरु भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार हुने अपेक्षा गरिएको छ।पोखराबाट अन्तर्राष्ट्रिय उडानको विस्तारले पोखरा तथा आसपासका क्षेत्रका नागरिकलाई वैदेशिक यात्रा तथा आवतजावतमा थप सहजता हुनेछ। साथै, यसले पर्यटकीय राजधानी पोखराको पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा समेत योगदान पुग्ने विश्वास छ।
दुबई–पोखरा–दुबई उडानका लागि गत २५ जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको थियो। सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो। उडान अनुमति पाएसँगै टिकट बिक्री खुला गरिएको थियो।
१२० भन्दा बढी गन्तव्यमा फ्लाइ दुबईले सिधा उडान गर्दै आएको छ। दुबई–पोखरा–दुबई उडान प्रवद्र्धनका क्रममा यात्रु तथा साझेदार संस्थाहरुलाई छुटलगायतका सुविधा दिइएको छ।पोखराका पर्यटन व्यवसायीले पनि यस अवसरमा विभिन्न सेवामा छुट घोषणा गरेका छन्।
यसअघि, विमानस्थल सञ्चालनको तीन वर्ष बितिसक्दासमेत नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन। भारत, चीन र भुटानबाट भने केही चार्टर उडान भएका थिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल उद्घाटन गरेका थिए।

