काठमाडौँ। भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ।
मौसम विभागका अनुसार यो प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम-उत्तर-पश्चिम दिशातर्फ अघि बढेको थियो। यसले सेप्टेम्बर २३ राति ११ बजेदेखि असोज ०८ गते (सेप्टेम्बर २४) राति १ बजेको बिचमा कलिंगपट्टनमको दक्षिण-पश्चिम तट पार गरेको छ।
चक्रवातको प्रभावका कारण धेरैजसो क्षेत्रमा भारी वर्षा हुनुका साथै ७५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको छ। एनटीआर जिल्लाको विजयवाडामा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। यसले गर्दा होचा भूभागहरू जलमग्न बनेका छन् भने सहरका धेरैजसो विद्यालयहरूमा लगातार दोस्रो दिन पनि बिदा घोषणा गरिएको छ।
ओडिसामा पनि यसको व्यापक असर देखिएको छ। त्यहाँ करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। मलकानगिरीमा भारी वर्षाका कारण कयौँ पुलहरू बगेका छन् भने पुलमाथि ३ देखि ४ फिटसम्म पानी बगिरहेको छ।

