पोखरा – कास्कीसहित गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि कास्कीमा सम्भावित बाढी, पहिरो तथा अन्य विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले वर्षाका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै यातायात, पदयात्रा, जल पर्यटन, शिक्षा तथा उद्धार र राहत व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

बैठकले बिहीबारदेखि आइतबारसम्म कास्कीबाट अन्य जिल्लातर्फ सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा रोक लगाउने निर्णय गरेको छ । ग्रामीण क्षेत्रमा भने दिउँसो ४ बजेपछि सवारीसाधन सञ्चालन नगर्न आग्रह गरिएको छ ।

भारी वर्षाका कारण पदयात्री जोखिममा पर्न सक्ने भन्दै कास्कीका पर्यटकीय क्षेत्रमा हुने पदयात्रामा समेत रोक लगाइएको छ । विभिन्न स्थानमा पदयात्राका लागि गएका पर्यटक तथा यात्रुलाई सुरक्षित स्थानमा फर्कन सम्बन्धित पर्यटन संस्थामार्फत सूचित गर्ने निर्णय गरिएको बरालले बताए ।

सम्भावित विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन अस्पताल, नेपाल रेडक्रस सोसाइटीलगायत सम्बन्धित सङ्घसंस्थालाई तयारी अवस्थामा रहन भनिएको छ । अस्पताल तथा स्वास्थ्य संस्थालाई एम्बुलेन्स, चिकित्सक र स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । आवश्यक परे तत्काल उद्धारका लागि हेलिकप्टर सेवा प्रदायक संस्थालाई समेत तयारी अवस्थामा रहन भनिएको छ ।

कास्कीका फेवाताल, बेगनासताललगायत तालमा सञ्चालन हुने जल पर्यटनका गतिविधिमा पनि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । मौसम प्रतिकूल भएको अवस्थामा जल पर्यटनसम्बन्धी गतिविधि सञ्चालनमा रोक लगाइने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको अवधिमा नदी तथा खोलाको तटीय क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा कुनै विपद्जन्य घटना भए तत्काल स्थानीय तह वा प्रशासनलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

जोखिममा रहेका बस्तीमा तत्काल सूचना प्रवाह गर्न, आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न तथा परिस्थितिअनुसार विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको छ ।

जल तथा मौसम विज्ञान विभागले कास्कीसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको हो ।