काठमाडौं । बिहीबार बिहानदेखि देशभर वर्षा भइरहेको छ । खराब मौसमका बाबजुद आन्तरिक तथा वाह्य उडान नियमित रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका मुख्य एयर ट्राफिक कन्ट्रोलर देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार हालसम्म खराब मौसमले काठमाडौं-लुक्लाका लागि चारवटा उडान रद्ध गरिएको छ । अन्य गन्तव्यतर्फ उडान नियमित भइरहेको उनले बताए ।

दिउँसो १२ बजेसम्म विभिन्न गन्तव्यका लागि २५ आन्तरिक उडान भइसकेको छ । पहाडी क्षेत्रका उडानमा बढी सतर्कता अपनाइएको र तराईतर्फको उडानमा कुनै समस्या नरहेको श्रेष्ठले बताए ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना र विमानस्थलमा उपलब्ध प्रविधिबाट गरिएको अध्ययनका आधारमा वर्ष र हावाको गति केही बढेको भए पनि उडान प्रभावित नभएको उनी बताउँछन् ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार अत्यधिक वर्षा र हावा चल्ने सूचना जारी गरे पनि आजसम्मको स्थिति भए आन्तरिक उडानमा समस्या नआउने श्रेष्ठको भनाइ छ ।