काठमाडौं । नेकपा (एमाले) का युवा नेता तथा सुहाङ नेम्वाङले पार्टी र आन्दोलनको वर्तमान अवस्था ‘ठिकठाक’ नरहेको भन्दै यथार्थ स्वीकार गर्न शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले जनतामा एमालेप्रतिको विश्वास र भरोसा टुट्दै गएको गम्भीर यथार्थलाई ढाकछोप नगरी स्वीकार्नुपर्ने बताए । सत्य धेरै समय लुकाउन नसकिने भन्ददै नेम्वाङले भने, ‘हामीले यहाँ भनिरहे जस्तो हाम्रो आन्दोलन र पार्टीको अवस्था ठिकठाक छैन । हामीप्रतिको विश्वास र भरोसा टुट्दै गएको छ । ठिक छ भनेर असत्य बोल्नु हुन्न, क्रान्तिकारीहरूले त झूटको सहारा लिनु हुन्न ।’
क्रान्तिकारी नेताहरू चे ग्वेभारा र माओ त्सेतुङका सन्दर्भ उल्लेख गर्दै उनले कमजोरी लुकाउनु भनेको रोग लुकाउनु जस्तै भएको टिप्पणी गरे ।
अग्रज नेताहरूको त्याग र बलिदानपूर्ण इतिहासप्रति सम्मान व्यक्त गर्दै उनले त्यो इतिहासलाई जोगाइराख्न आजको आन्दोलन बलियो हुनुपर्ने धारणा राखे ।
नेतृत्वलाई विकल्प दिँदै नेम्वाङले भने, ‘मेरो अनुरोध छ, कि समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस् र हामी त्यहाँ कसरी हिँड्ने त्यो भनिदिनुहोस् । कि हामी नयाँ पुस्तालाई विश्वास गर्नुहोस्- हामी पार्टी र आन्दोलनलाई सारा बन्धन र षड्यन्त्रबाट बाहिर निकालेर तपाईंहरूको गौरवमय इतिहासको कथा दुनियाँलाई भन्छौँ ।’

