नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ। कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच तीन वर्षका लागि सम्झौता भएको हो। सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइप एनपीएल सिजन–३ मा कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ रहनेछ। यसअघि गत सिजन पल्मबर कर्णाली याक्सको प्रमुख प्रायोजकका रूपमा जोडिएको थियो। यसपटक साझेदारीको स्वरूप परिवर्तन भए पनि दुवै पक्षले सहकार्यलाई निरन्तरता दिएका हुन्।

कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले पल्मबरसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गर्दै यो केवल व्यावसायिक साझेदारी नभई टोलीप्रतिको विश्वास र समर्थनको निरन्तरता भएको बताए। उनले पल्मबरको सहयोगले टोलीलाई एनपीएलको तेस्रो संस्करणमा थप ऊर्जा र उत्साह मिल्ने विश्वास व्यक्त गरे।

त्यस्तै, जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका नितिन जलानले पनि कर्णाली याक्ससँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा उत्साहित रहेको बताए। उनले यो साझेदारी ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नभई नेपाली क्रिकेट र एनपीएलको विकासमा योगदान गर्ने उद्देश्य समेत रहेको उल्लेख गरे।

अक्टोबर २६ देखि सुरु हुने एनपीएल–३ का लागि कर्णाली याक्सले मार्क वाट र अक्बर अली गरी दुई विदेशी खेलाडीलाई समेत टोलीमा आबद्ध गरिसकेको छ।