काठमाडौँ । ११औँ राष्ट्रिय महाधिवेशनको तेस्रो केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले वरिष्ठ सम्मानित नेता बनाएकाे छ। याे निर्णयसँगै नेकपा एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल र ध्रवीकृत हुने भएको छ।
विगत एक दशकसम्म एमालेमा ‘वान मेन शो’का रूपमा रहेका अध्यक्ष केपी शर्मा ओलीमात्र नभएर अब भण्डारीसमेत एमालेको शक्ति केन्द्रका रूपमा रहने भएकी छन्।
भण्डारी एमालेको वरिष्ठ नेता मनोनित भएसँगै लामो सयमदेखि एमालेभित्र किनारामा परेका विद्या भण्डारी पक्षका नेता कार्यकर्ताहरूमा खुसियाली छाएको छ । उनीहरूले अबदेखि भण्डारीलाई नेता मानेर राजनीतिक गतिविधि बढाउने सम्भावना बढेको छ भने ओली पक्षका केही नेता कार्यकर्ता भने सशंकित हुन सक्ने देखिन्छन्, जसले एमालेभित्रको राजनीति केही समय थप ध्रुवीकृतमा बित्ने देखिन्छ ।
राजनीतिक विश्लेषक झलक सुवेदी एमालेमा विद्याको रि–इन्ट्रीसँगै पार्टीको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आउने लगभग पक्का भएको बताउँछन् ।
‘अब ओलीले विद्यालाई विस्तारै पार्टीमा स्पेस दिएर अघि बढे भने ध्रवीकृत नहुन सक्छ,’ उनले रातोपाटीसँग भने, ‘यदि ओलीले त्यसो गर्न चाहेनन् भने स्पस्ट दुई धार बन्ने छ र शक्ति सन्तुलन पनि सोहीअनुसार फेरबदल हुने देखिन्छ ।’
गत पुसमा सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि ओली केन्द्रीय कमिटीसहित विभिन्न कमिटीमा बुहमतमा छन् ।
विश्लेषक सुवेदीका अनुसार पार्टीमा दुई शक्ति केन्द्रको विकास हुन नदिन ओलीको भूमिका नै निर्णायक हुन सक्छ । ‘अहिले तत्काल आफ्नो संकट टार्नमात्र विद्यालाई पार्टीमा स्थान दिएको हो भने समस्या पर्न सक्छ, यदि विस्तारै विद्यालाई सक्रिय हुन स्पेस दिँदै सक्रिय राजनीति गर्न बाटो खुला गर्दै जाने हो भने पार्टी एकीकृत हुँदै जाने देखिन्छ,’ सुवेदीले रातोपाटीसँग भने, ‘यो सबै ओलीको गतिविधिमा भर पर्ने कुरा हो ।’
एमाले केन्द्रीय कमिटी बैठकले ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्नुका साथै सात जनालाई स्थायी कमिटी र भण्डारीलाई पार्टीको वरिष्ठ सम्मानित नेताको हैसियता पुनः भित्रयाएको हो ।
गत फागुनको चुनावमा लज्जास्पद हारे बेहोरेपछि एमालेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खुलाउने निर्णय गरेको थियो । त्यसअघि एमालेले राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको नवीकरण भएको सदस्यतासमेत रोकेको थियो ।
सात वर्षभन्दा बढी राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुनः कार्यकाल सकिएसँगै पार्टी राजनीतिमै सक्रिय हुन चाहेकी थिइन् । तर, पार्टीभित्र भण्डारीको पल्ला भारी हुने देखेपछि अध्यक्ष ओलीसहित केही नेताहरूले रोक्ने प्रयास गरेका थिए । तर पार्टीभित्र गुटबन्दी बढ्दै गएपछि अध्यक्ष ओली आफै भण्डारीलाई पार्टीमा भित्र्याउन तयार भएका हुन् ।
अर्का राजनीतिक विश्लेषक डा. लोकराज बरालले एमालेमा विद्याको रि–इन्ट्रीले आन्तरिक राजनीतिमा केही फेरबदल हुनसक्ने औँल्याए । ‘एमालेभित्र विद्याको सक्रियता बढ्ने त देखियो तर त्यसले मुलुकको राजनीतिमा भने खासै फरक पर्ने देखिदैन,’ बरालले रातोपाटीसँग भने, ‘एमालेभित्र विष्णु र शंकरले पनि विद्यालाई नेता मानेर जाने देखियो ।’
पार्टी एकढिक्का हुने संकल्प
एमालेको केन्द्रीय कमिटी बैठक केपी शर्मा ओलीको राजनीतिक प्रस्ताव र विभिन्न नेताहरूको कार्यविभाजन गर्दै सकिएको हो । बैठकले आगामी स्थानीय तहको निर्वाचनमा एमाले एकताबद्ध र एकढिक्का भएर जाने निर्णयसमेत गरेको छ ।
‘केन्द्रीय कमिटीको तेस्रो बैठक पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गर्ने सम्बन्धमा अत्यन्त महत्त्वपूर्ण रह्यो,’ एमाले बैठकले पारित गरेको विशेष संकल्प प्रस्तावमा भनिएको छ । बैठकमा एमालेले विगतमा रहेका कमीहरूको गम्भीर समीक्षा गरेको जनाएको छ । ‘तिनलाई सच्याउँदै आगामी दिनमा नदोहोर्याउने प्रण गरेका छौँ र सुधार तथा रूपान्तरणको मार्गचित्र तयार गरेका छौं,’ बैठकपछि महासचिव शंकर पोखरेलले भने, ‘बैठकका निर्णयलाई गम्भीरतापूर्वक बोध र निष्ठापूर्वक कार्यान्वयन गर्दै अगाडि बढ्न पार्टीका सबै नेता कार्यकर्तालाई आग्रह गर्दछौँ ।’
यसबिच देखापरेका कतिपय असमझदारी र अस्वस्थताहरू यस बैठकदेखि अन्त्य भएका दाबी गर्दै पोखरेलले पार्टी भावनात्मक रूपमा थप एकजुट भएको जनाएका छन् । ‘बैठकको यस सन्देशलाई आत्मसात गर्दै लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीसम्बन्धी पार्टीले तय गरेका प्रमुख कार्यभारमा केन्द्रित हुन यो बैठक समग्र पार्टी पङ्क्तिलाई आह्वान गर्दछ,’ पोखरेलले भनेका छन् ।
असोज ५ गते सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक असोज ८ गते सम्पन्न भएको हो ।
ओलीको विदाई प्रस्ताव छलफलको विषय
एमालेमा पार्टी पुनर्गठन र ओलीले नेतृत्व हस्तानतरण गरेर मार्गप्रशस्त गर्नुपर्ने माग उठ्दै आएको थियो । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीबाट अध्यक्ष केपी शर्मा ओलीले बिदाइ लिनुपर्ने प्रस्ताव आगामी बैठकहरूमा छलफल हुने बताएका छन् ।
नेता भट्टराईले तेस्रो केन्द्रीय कमिटीमा अध्यक्ष ओलीले बिदा लिनुपर्ने लिखित प्रस्ताव गरेका थिए । बिहीबार केन्द्रीय कमिटी बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले आफ्नो प्रस्तावका कतिपय कुरा अध्यक्षको प्रतिवेदनमा समावेश हुने बताए ।
‘कतिपय समावेश हुन्छन्, कतिपय हुँदैनन्,’ उनले भने, ‘पार्टी हो, अब विचार राख्दै गर्नुपर्छ, छलफल गर्दै गर्नुपर्छ ।’ केन्द्रीय कमिटीले गरेका निर्णयलाई कार्यान्वयनमा लानुपर्ने भन्दै उनले फेरि अर्को केन्द्रीय कमिटीको बैठकमा आफ्ना विचार राख्दै जाने बताए । अब एमालेको मुख्य कार्यभार आउने स्थानीय चुनाव भएको भन्दै पार्टीको सबै शक्ति त्यसतर्फ केन्द्रित हुने उपमहासचिव भट्टराईको भनाइ छ ।
‘अब एमाले स्थानीय चुनावको तयारीको निम्ति एक ढिक्का र एकताबद्ध भएर जान्छ,’ उनले भने, ‘अब उम्मेदवार छनोटदेखि सबै कुरामा तलका कमिटीहरूलाई हामी अधिकार सम्पन्न बनाउँछौँ । कार्यकर्ताको भावना, जनताको भावनाअनुसारका उम्मेदवार छनोट गर्छौँ। आम जनताले चाहेको, खोजेको घोषणापत्रहरू लिएर जान्छौँ ।’
छठपछि आन्दोलन तयारी
यसैबिच एमालेका सचिव महेश बस्नेतले दसैँ, तिहार र छठपछि सशक्त आन्दोलन गर्ने पार्टीको निर्णय रहेको बताएका छन् ।
नेता बस्नेतले त्यो आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकारको प्रतिशोधी व्यवहारलाई पराजित गर्ने चेतावनीसमेत दिएका छन् । ‘दसैँ, तिहार र छठपछाडि मधेसदेखि देशका सबै भू–भागका एमालेलगायत अन्य सबै दल सहभागी भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ,’ नेता बस्नेतको भनाइ छ ।

