सिराहा- सिराहाको औरही गाउँपालिका १ दरैया क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एकसय १० किलो ७६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा औरही गाउँपालिका २ का ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका ५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्।
सशस्त्र प्रहरीका अनुसार उनीहरूले टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा ६ बोरामा रहेको गाँजा बरामद गरिएको हो। उनीहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार तस्करहरूले उदयपुर, र सिन्धुलीलगायत जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषध गाँजा खरिद गरी सिराहाका बलान, कमला, गागन र घुर्मीलगायत नदी तथा सीमावर्ती क्षेत्र हुँदै भारततर्फ तस्करी गर्ने गरेको पाइएको छ।
यसअघि दुई दिनअघि पनि सशस्त्र प्रहरीले सिराहाको सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोकस्थित गागन खोलाको पुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको थियो। उक्त घटनामा ठूलो परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

