चितवन । नारायणी नदीमा बगेको ‘राइनो क्रुज’ जहाज पिल्लरमा अड्किएपछि त्यसलाई निकाल्न गरिएको प्रयास अझै सफल हुन सकेको छैन। पर्याप्त स्रोत–साधन, क्रेन तथा पूर्वतयारीको अभावका कारण उद्धार कार्य लम्बिएको आरोप लागिरहेको छ।
केही समयअघि मौसम विभाग तथा सरकारले भारी वर्षाको पूर्वसूचना जारी गरेको थियो । भारी वर्षापछि नारायणी नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा डुबान भएको थियो। सोही क्रममा नारायणी नदीमा सञ्चालन हुँदै आएको राइनो क्रुज बगेर नदीको पिल्लरमा अड्किएको थियो।
क्रुज अड्किएपछि केही समय चितवन–नवलपुरतर्फको सवारी आवागमनसमेत प्रभावित भएको थियो। घटनास्थलमा खटिएका चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले क्रुजको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले क्रुज सञ्चालकलाई नियन्त्रणमा लिन निर्देशन दिएको बताइएको छ।
त्यसपछि चितवनका प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेश सशस्त्र प्रहरीका डीआईजी, नेपाल प्रहरीका डीआईजी, चितवन प्रहरी प्रमुख एसपीलगायत सुरक्षा निकायका अधिकारीहरू नारायणी नदी किनारस्थित एक होटलमा करिब एक घण्टा छलफलमा बसेका थिए।
क्रुज निकाल्न बुटवलबाट क्रेन ल्याइएको तथा त्रिशूली हाइड्रोपावरबाट समेत क्रेन ल्याएर उद्धार प्रयास गरिएको थियो। तर, पटक–पटक प्रयास गर्दा पनि क्रुजलाई सुरक्षित रूपमा निकाल्न सकिएको छैन।
यसबिच उद्धार अभियानको नेतृत्व र सार्वजनिक अभिव्यक्तिलाई लिएर पनि प्रश्न उठेको छ। घटनास्थलमा क्रुज निकाल्न लागिएको, केही समयमै निस्कनेजस्ता अभिव्यक्ति दिइए पनि आवश्यक उपकरण र पूर्वतयारी पर्याप्त नभएको देखिएको आरोप छ।
विशेषगरी जिल्ला प्रशासनको तयारी, उपलब्ध स्रोत–साधन र उद्धार योजनाबिच तालमेल नभएको भन्दै आलोचना भइरहेको छ। उद्धार कार्यभन्दा प्रचारात्मक गतिविधि बढी देखिएको भन्दै कतिपयले यसलाई ‘स्टन्ट’को संज्ञासमेत दिएका छन्।
यद्यपि, क्रुज निकाल्ने क्रममा नदीको तीव्र बहाव, क्रुजको अवस्था, पिल्लरमा अड्किएको स्थान र आवश्यक प्राविधिक उपकरणको उपलब्धतालगायत विषयले चुनौती थपेको देखिन्छ । राइनो क्रुज अझै नारायणीमै अड्किएको अवस्थामा छ भने उद्धारका लागि थप प्राविधिक तयारी र स्रोत–साधन आवश्यक देखिएको छ।

