कैलाली । कैलालीमा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । घटनामा दुई जना प्रहरी घाइते भएका छन् भने आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार चौधरीको हात र जोशीको अनुहारमा चोट लागेको छ । दुवै जनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रहरीमाथि आक्रमण गरेको आरोपमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, साउँद र धन बहादुर गम्भीर साउँदलाई पक्राउ गरिएको डीएसपी तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूले सामान ओसारपसारमा प्रयोग गरेका से ४ प ११७१ र सुपप्र ०१–०११ प ६४१ नम्बरका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

घटनामा संलग्न केही व्यक्ति फरार रहेकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।