काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न ११ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। मनोनीत सदस्यहरूको नामसहितको विवरण पार्टीले निर्वाचन आयोगमा पठाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो। विधानअनुसार केन्द्रीय समितिमा एक तिहाइ महिला प्रतिनिधित्व पुर्याउन थप ११ जना महिला मनोनीत गरिएको हो।
मनोनीत हुने महिलाहरूमा सुजाता कोइराला, इश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन र निपा चोख्याललगायत छन्। बाँकी पाँच जनाको नाम भने सार्वजनिक भएको छैन।
मनोनीत सबै ११ जना नेतृले १५औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका थिएनन्। सुजाता कोइराला यसअघि पनि विशेष महाधिवेशनपछि मनोनीत केन्द्रीय सदस्य बनेकी थिइन्।
त्यस्तै, इश्वरी न्यौपाने १५औँ महाधिवेशनअघि संस्थापन पक्षमा सक्रिय थिइन्। सभापतिको आग्रहअनुसार आफूले महाधिवेशनमा उम्मेदवारी नदिएको उनले त्यसबेला सामाजिक सञ्जालमार्फत बताएकी थिइन्। चन्दा चौधरी पनि विशेष महाधिवेशनपछि संस्थापन पक्षमा लागेकी थिइन्।
मनोनीत अर्की नेतृ लक्ष्मी पाण्डे गाउँपालिका राष्ट्रिय महासंघकी केन्द्रीय अध्यक्ष तथा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन्। रौतहटबाट प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी साहजान खातुन पनि केन्द्रीय सदस्यमा मनोनीत भएकी छन्।
त्यसैगरी, कैलालीकी निपा चोख्याल विशेष महाधिवेशनको पक्षमा सक्रिय रहेकी नेतृ हुन्।
कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। विधानमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने व्यवस्था छ।

