काठमाडौँ। ‘जितभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने मूल नाराका साथ १४औँ किन्डर ओलम्पिक आयोजना हुने भएको छ। अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (ECETA) ‘एकता’को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका ५० भन्दा बढी पूर्वप्राथमिक विद्यालयका करिब २ हजार १०० बालबालिका सहभागी हुनेछन्।

आयोजकका अनुसार ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी आयोजना हुन लागेको किन्डर ओलम्पिक तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरणको कार्यक्रम २०८३ मंसिर १२ गते शनिबार काठमाडौँस्थित दशरथ रंगशालामा आयोजना हुनेछ। सहभागी विद्यालय तथा बालबालिकाको संख्या बढी भएकाले दोस्रो चरण पुस १२ गते र तेस्रो चरण माघ १० गते लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा सञ्चालन गरिनेछ।

एकताका अध्यक्ष सुवर्ण केसरी महर्जनका अनुसार कार्यक्रममा बालबालिकाले विभिन्न १८ वटा खेलमा सहभागिता जनाउनेछन्। कार्यक्रमलाई व्यवस्थित र सहज बनाउन प्रत्येक चरणमा ५० भन्दा बढी स्वयंसेवक परिचालन गरिनेछ।

खेलकुदका क्रममा बालबालिकालाई एकअर्कासँग प्रतिस्पर्धा गर्नुभन्दा व्यक्तिगत लक्ष्य हासिल गर्न र आफ्नो क्षमता प्रदर्शन गर्न प्रोत्साहित गरिने आयोजकले जनाएको छ। कार्यक्रमको अन्त्यमा सहभागी सबै बालबालिकालाई पदक तथा विद्यालयहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

एकताकी संस्थापक सदस्य रुपा अधिकारीले सानै उमेरदेखि बालबालिकामा खेलकुदप्रति रुचि जगाउन, आत्मविश्वास अभिवृद्धि गर्न तथा नैतिकता, इमानदारी र जिम्मेवारीबोध विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

त्यस्तै, एकताकी संस्थापक सदस्य तथा १४औँ किन्डर ओलम्पिककी संयोजक बिना शर्माले साना बालबालिकाका लागि अन्तरविद्यालयस्तरीय खेलकुद तथा अन्य सिर्जनात्मक कार्यक्रमको अभाव महसुस भएपछि संस्थाको स्थापना गरिएको बताइन्।

उनका अनुसार करिब १७ वर्षअघि पूर्वप्राथमिक तहका बालबालिकालाई विद्यालयको सीमाभन्दा बाहिर ल्याई अन्तरविद्यालयस्तरीय गतिविधिमा सहभागी गराउने, शिक्षकहरूको बालमैत्री व्यवहार तथा पेसागत विकासमा सहयोग पुर्‍याउने उद्देश्यले संस्था स्थापना गरिएको हो। बालबालिकामा खेलकुदसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले किन्डर ओलम्पिकको सुरुवात गरिएको पनि उनले बताइन्।

पूर्वप्राथमिक तहका बालबालिकाको सर्वाङ्गीण विकास, आत्मविश्वास अभिवृद्धि तथा खेल संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले एकताले विगत १६ वर्षदेखि बालबालिकाको क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।