काठमाडौँ । झापाको दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुरा, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

दमक नगरपालिका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमण फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना तथा उपकरणहरूको आवतजावत पूर्ण रूपमा रोकिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले फार्म क्षेत्रमा अनावश्यक प्रवेशमा समेत कडाइ गरेको छ भने प्रवेश तथा बाहिरिने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न निर्देशन दिएको छ।

नगरप्रमुख रामकुमार थापाले सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सबै कदम चालिएको बताउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। पशु विकास अधिकृत विपु अधिकारीका अनुसार सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित फार्मका कुखुरा नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ।

सोमबार विज्ञसहितको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी सङ्क्रमित तथा शंकास्पद कुखुरा स्वास्थ्य मापदण्डअनुसार नष्ट गर्ने तयारी गरेको छ।

दमक–१० मा साना–ठूला गरी करिब २५ वटा कुखुरा फार्म सञ्चालनमा रहेको वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिएका छन्। प्रभावित फार्ममा करिब १३ हजार कुखुरा रहेको जनाइएको छ।

नगरपालिकाले असामान्य रूपमा कुखुरा बिरामी हुने वा अचानक मर्ने घटना देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ। साथै मृत वा बिरामी कुखुरा नछुन, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा कुखुराजन्य सामग्री प्रयोग गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ।

बर्ड फ्लु मानिसमा समेत सर्न सक्ने रोग भएकाले यसको नियन्त्रण र रोकथामका लागि सबैको सहयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ।