काठमाडौँ । इजरायल र लेबनानबीच करिब एक महिना लामो द्वन्द्वपछि १० दिनको युद्धविराम लागू भएको छ। यससँगै प्रभावित क्षेत्रमा नागरिकले केही राहतको अनुभूति गरेका छन् ।
युद्धका कारण लामो समयदेखि विस्थापित भएका हजारौँ नागरिक घर फर्किन थालेका छन्। दक्षिणी लेबनानबाट ठूलो सङ्ख्यामा मानिसहरू फर्किँदा स्थानीय क्षेत्रमा उत्साह देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।युद्धविरामको घोषणा भएपछि कतिपय स्थानमा सर्वसाधारणले नाचगान गर्दै स्वागत गरेका छन्। अमेरिकी पहलमा भएको यो सहमति प्रारम्भिक रूपमा १० दिनका लागि लागू गरिएको हो, आवश्यक परे अवधि थप गर्न सकिने बताइएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामलाई शान्तिको महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्नुभएको छ। लेबनानका राष्ट्रपति जोसेफ खलील औनले पनि यसलाई सकारात्मक कदम भएको प्रतिक्रिया दिनुभएको छ। हिजबुल्लाहले युद्धविराम स्वीकार गर्ने सङ्केत दिएको छ ।

साथै, दक्षिणी लेबनानबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग पनि राखिएको छ। यद्यपि, इजरायलले उक्त क्षेत्रमा १० किलोमिटरको ‘सुरक्षा क्षेत्र’ कायम राख्ने अडान दोहोर्‍याएको छ, जसले भविष्यमा तनाव रहने संकेत देखिएको छ।