काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकामाथि कुनै पनि प्रकारको डर, दबाब वा प्रभाव रहे निष्पक्ष न्याय सम्भव नहुने बताएकी छन्। कानून दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले न्यायाधीशहरू दुई तिहाइ सरकारको प्रभाव वा महाअभियोगको भयबाट मुक्त हुनुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “डर र प्रभावमा न्याय सम्भव हुँदैन, चाहे त्यो दुई तिहाइ सरकारको डर होस् वा महाअभियोगको भय नै किन नहोस्।”
कामु प्रधानन्यायाधीश मल्लले विधि र वैधानिक परम्पराको उपेक्षा गर्दै स्वार्थप्रेरित ढंगले गरिने कार्यले निरंकुशताको संकेत दिने बताइन्। उनले संस्थागत संरचना भत्काएर परिवर्तनको नाममा गरिने हस्तक्षेपले विधिको शासनमा विश्वास गर्ने नागरिकहरूको अपेक्षा र भरोसा कमजोर बनाउने धारणा राखिन्।
उनले औचित्यको नाममा कानुनलाई आफूअनुकूल व्याख्या गर्ने प्रवृत्ति विधिको शासनका लागि असह्य हुने उल्लेख गर्दै न्यायपालिकाको स्वतन्त्रता लोकतन्त्रको आधार भएको बताइन्।
मल्लले न्यायपालिका संविधानको भावना अनुरूप अघि बढ्नुपर्ने र त्यसका लागि पर्याप्त स्रोत–साधन तथा संस्थागत सुदृढीकरण आवश्यक रहेको पनि बताइन्।
सम्बोधनका क्रममा उनले संवैधानिक सर्वोच्चता र न्यायिक सार्वभौमसत्तालाई कमजोर पारेर ‘आज्ञाकारी न्यायपालिका’ बनाउने प्रयासप्रति चिन्ता व्यक्त गर्दै न्यायलाई धम्की, दबाब वा त्रासद्वारा प्रतिस्थापन गर्न खोजिए त्यसले अन्ततः अस्थिरता र अन्याय निम्त्याउने चेतावनी दिइन्।

