काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सञ्चालनमा आएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका थिए ।
प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै विपक्षी सांसदहरूले सदनमा विरोध गरेपछि बैठक केही समयका लागि रोकिएको थियो । उनीहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा सहभागी हुनुपर्ने माग राखेका थिए ।
सदनमा उत्पन्न अवरोध हटाउन सभामुख डीपी अर्यालले राजनीतिक दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलपछि दलहरूबीच सहमति जुटेपछि प्रतिनिधिसभाको बैठक पुनः सुरु गरिएको हो ।
बैठक पुनः सञ्चालन भएसँगै नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाइएको संसद् सचिवालयले जनाएको छ ।

