काठमाडौं । नेपाली काग्रेसकाका सचेतक निस्कल राईले संसदमा प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति कडा आपत्ति जनाउँदै कार्यकारी प्रमुखले संसदीय मर्यादामाथि बेवास्ता गरेको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अनुपस्थितिलाई संसदीय अभ्यासप्रतिको चरम उदासीनता भन्दै सत्ता पक्षले त्यसलाई सामान्य बनाउन खोजेको टिप्पणी गरे।
राईले दुई तिहाइ बहुमतको आडमा सांसदहरूको भूमिकालाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाउँदै प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत नभएको बताए।

संसदलाई केवल बहस गर्ने थलो नभई ज्ञान र उत्तरदायित्वको केन्द्रका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले सदनलाई ‘गुरुकुल’ र ‘विश्वविद्यालय’सँग तुलना गरे। तर, प्रधानमन्त्री स्वयंले नै त्यसको गरिमालाई बेवास्ता गरेको उनको भनाइ थियो।

“सदन मन लागे आउने र मन नलागे जाने ठाउँ होइन,” उनले व्यंग्य गर्दै भने, “आज यस्तो अवस्था आएको छ कि प्रधानमन्त्रीज्यूले नै यो गुरुकुल र विश्वविद्यालय ‘बंक’ गर्न थाल्नुभएको छ।”

सचेतक राईले प्रधानमन्त्री संसदमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ नदिएसम्म आफ्नो विरोध जारी रहने चेतावनी दिएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्षी दलहरूले निरन्तर दबाब बढाइरहेका बेला संसदभित्रको राजनीतिक तनाव थप चर्किने संकेत देखिएको छ।