काठमाडौँ । छिमेकी मुलुक भारतको भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (बुधवार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्दै छन्। नेपाली राजनीतिमा आएको नयाँ पुस्ताको नेतृत्व र बदलिएको राजनीतिक परिदृश्यका बीच हुन लागेको यो भेटलाई निकै चासोका साथ हेरिएको छ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सोमबार नयाँ दिल्ली पुगेको रास्वपाको टोलीले भ्रमणको दोस्रो दिन मंगलबार राजनीतिक तथा कूटनीतिक भेटघाटमा निकै व्यस्त समय बिताएको छ।

भाजपा मुख्यालयमा भव्य स्वागत, शीर्ष नेताहरूसँग संवाद
मंगलबार नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालय पुगेका सभापति लामिछानेलाई त्यहाँको नेतृत्वले भव्य स्वागत गरेको थियो। ‘भाजपालाई चिन्नुहोस्’ (Know BJP) अभियान अन्तर्गत भएको उक्त छलफलमा लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग द्विपक्षीय भेटवार्ता गरे। सो क्रममा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता कपुरसँग पनि उनको भेट भएको थियो।

भाजपा नेतृत्वसँगको बैठकमा मुख्य गरी दुई दलबीचको सांगठनिक अनुभव, तल्लो तहसम्मको जनसम्पर्क र समकालीन राजनीतिमा ‘जेन–जी’ (नयाँ पुस्ता) को नेतृत्वदायी भूमिका तथा रणनीतिक विषयहरूमा अनुभव आदानप्रदान भएको रास्वपाले जनाएको छ।

विदेशमन्त्री जयशङ्कर र गृहमन्त्री शाहसँग छुट्टाछुट्टै भेट
भाजपा नेताहरूसँगको संवाद लगत्तै सभापति लामिछानेले भारतका विदेशमन्त्री एस. जयशङ्कर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

विदेशमन्त्री जयशङ्करसँगको भेटपछि सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै लामिछानेले भनेका छन्:

“नयाँ दिल्लीमा भारतका विदेशमन्त्री डा. एस. जयशङ्करसँग फलदायी संवाद भयो। भेटमा नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउने, विकास साझेदारी र बहुपक्षीय संलग्नताका विषयमा सकारात्मक कुराकानी भएको छ।”

रास्वपाका अनुसार यी उच्चस्तरीय भेटहरूमा नेपाल-भारतबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समयानुकूल थप प्रगाढ बनाउने, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीच संवादको दायरा फराकिलो बनाउने विषयमा केन्द्रित रहेर विचार-विमर्श भएको थियो।

भ्रमण टोली र स्वदेश फिर्ती
उच्चस्तरीय भ्रमण टोलीमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरालगायत सहभागी छन्। दुई देशबीचको आपसी हित र दलगत सम्बन्ध सुधारमा केन्द्रित यो टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।